अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार भने उच्च अंकले घटेको छ। बजार परिसूचक नेप्से ३९.४४ अंक अर्थात् १.४१ प्रतिशतले घटेर २७४४ अंकमा झरेको हो। अघिल्लो कारोबार दिन नेप्से ३८.१९ अंकले बढेको थियो।
सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो। तर, नीति तथा कार्यक्रममा उल्लेख गरिएका पूँजीबजारसम्बन्धी विषयले लगानीकर्ताको विश्वास जित्न सकेनन्। कार्यान्वयन पक्ष विगतदेखि नै कमजोर रहँदै आएकाले कागजी घोषणाले मात्रै बजारलाई उत्साहित बनाउन नसकेको विश्लेषण गरिएको छ।
नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) लाई पूँजीबजारमा सहभागी गराउने, नेप्सेको पुनर्संरचना गर्ने तथा बन्ड बजार विस्तार गर्ने विषय समेटिएका छन्। तर यस्ता विषय विगतका नीति तथा कार्यक्रम र बजेटमा पनि दोहोरिँदै आए पनि कार्यान्वयन प्रक्रिया अझै अनिश्चित रहेको लगानीकर्ताको गुनासो छ।
बजार घटे पनि कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। कारोबार भएका कम्पनीमध्ये जम्मा १३ कम्पनीको सेयर मूल्य बढ्दा २५१ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।
क्षेत्रगत सूचकतर्फ अधिकांश समूह राताम्मे बने। बैंकिङ समूह ०.८३ प्रतिशत, विकास बैंक १.३७, फाइनान्स २.०३, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर २.२२, लगानी १.३०, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन १.६५, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.७७, अन्य १.४९ तथा व्यापार समूह २.३३ प्रतिशतले घटे। चार वटा समूहका सूचक दुई प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
व्यक्तिगत कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो। यसबाहेक डिबेन्चर समूहका कम्पनीहरूको मूल्य पनि उल्लेख्य बढेको छ। यता फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १२.४० प्रतिशतले घट्यो। झापा इनर्जी ६.८९ प्रतिशत, आत्मनिर्भर लघुवित्त ६.११ प्रतिशत तथा होटल फरेस्ट इन ६.१० प्रतिशतले घटेका छन्।
मंगलबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, शिवम् सिमेन्ट र एसवाई प्यानल रहेका छन्।
















