नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो

Image

 नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम)मा नेपालको अंक गत वर्षको ३.४७ बाट ०.१९ अंकले वृद्धि भई यस वर्ष ३.६६ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

फिचको मूल्यांकन प्रणालीमा ‘बीबी–’ (डलब बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक पर्ने व्यवस्था छ । 

गत वर्ष नेपालको एसआरएम अंक न्यूनतम सीमाभन्दा कम रहेकाले गुणात्मक मूल्यांकनका आधारमा एक तह थप गरी ‘बीबी–’ रेटिङ प्रदान गरिएको थियो । 

तर, यस वर्ष नेपालले कुनै अतिरिक्त ग्रेस अंक वा सहुलियतबिना आफ्नै मूल्यांकन अंकका आधारमा ‘बीबी–’ रेटिङ प्राप्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

फिच रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो वर्ष स्थिर अर्थात् ‘डबल बी माइनस’मा कायम राखेको छ ।

हालै रसुवाको बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुत नेपालको क्रेडिट रेटिङ अंकमा वृद्धि हुनु महत्त्वपूर्ण उपलब्धि भएको अर्थ मन्त्रालयको भनाइ छ । 

सरकारले अघि बढाएका सुशासनसम्बन्धी कदम तथा समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पारेको विज्ञप्तिमा उल्लेख छ ।

सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व तथा ऋण दायित्व पूरा गर्न सक्ने क्षमताको मूल्यांकन गर्दछ । 

यसले अन्तर्राष्ट्रिय वित्तीय बजारमा देशको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्दछ ।