अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धविराम ‘भेन्टिलेटर’मा रहेको टिप्पणी गरेका छन् । यससँगै अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौताप्रतिको आशा थप कमजोर बनेको छ ।
ट्रम्पले इरानको जवाफलाई खारेज गर्दै त्यसलाई ‘गार्भेज’ अर्थात् फोहोरको संज्ञा दिएका छन् । उनले उक्त जवाफ पूरा पढ्न पनि आवश्यक नठानेको बताएका छन् ।
दुई देशबीच तनाव बढिरहेको छ । जसका कारण ७ अप्रिलदेखि लागु भएको संघर्षविराममाथि खतरा बढ्दै गएको छ । दुवै पक्ष आफ्ना–आफ्ना अडानमा अडिग देखिएका छन् ।
इरानले युद्ध अन्त्यका लागि विभिन्न सर्तहरू अघि सारेको छ । ती सर्तहरूमा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, होर्मुज जलमार्गमा आफ्नो सार्वभौमसत्तालाई मान्यता दिनुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने माग प्रमुख छन् ।
अर्कोतर्फ, अमेरिका भने पहिले युद्ध रोक्नुपर्ने र त्यसपछि मात्र आणविक कार्यक्रमजस्ता जटिल विषयमा वार्ता अघि बढाउनुपर्ने पक्षमा रहेको बताइएको छ । यसैबीच अमेरिकाले इरानको तेल निर्यात रोक्ने उद्देश्यले नयाँ प्रतिबन्धहरू पनि घोषणा गरेको छ ।
यस संघर्षको सबैभन्दा ठूलो असर होर्मुज जलमार्गमा परेको छ, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने गर्छ । युद्धका कारण उक्त क्षेत्रमा जहाजहरूको आवतजावत लगभग ठप्प भएको बताइएको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल १०४.५० डलरभन्दा माथि पुगेको छ ।
वैश्विक आपूर्ति शृंखला प्रभावित भएपछि ओपेकको उत्पादन पनि पछिल्ला दुई दशकयताकै न्यून स्तरमा झरेको उल्लेख गरिएको छ ।
















