एसईईको ग्रेड वृद्धि परीक्षा असार १ देखि सञ्चालन हुने

Image

एसईईका नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई विषयसम्म नन ग्रेडेड भएका विद्यार्थी र प्राप्त ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्।

सोमबार सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ परीक्षार्थीको नतिजा ननग्रेड आएको छ। बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थी मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्। बोर्डले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि सम्बन्धित विद्यालयलाई तयारी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

सोभन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने परीक्षा नियन्त्रक तुकराज अधिकारीले जानकारी दिए।

सोमबार सार्वजनिक २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार यस वर्ष ४.१७ प्रतिशतले नतिजामा सुधार आएको छ। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।