सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा संसद्को बैठकमा अधिकांश कुर्सी खाली देखिएका छन्।
बिहीबारको बैठकमा बोल्दै नेकपाका सांसद प्रमेश हमाल ले सत्तापक्षका सांसदहरूको अनुपस्थितिप्रति असन्तुष्टि जनाएका छन्।
नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै हमालले संसद्मा पर्याप्त उपस्थिति नभएको विषय उठाएका हुन्। ‘मैले बोल्दा सत्तापक्षका जिम्मेवार माननीयहरू सुन्नुहुनेछ र ग्रहण गर्नुहुनेछ। तर, सिटहरू खाली छन्। तैपनि म मेरा कुरा सुरु गर्छु,’ उनले भने।
नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा संसद्मा सांसदहरूको न्यून उपस्थितिलाई लिएर आलोचना हुँदै आएको छ। विपक्षी दलका सांसदहरूले संसद्प्रति गम्भीरता नदेखाइएको भन्दै प्रश्न उठाउँदै आएका छन्।















