काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी सवारीचालकलाई कारबाही गर्दै ४ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार एकै दिन दुई हजार २९ जना सवारीचालक ट्राफिक कारबाहीमा परेका हुन् । विभिन्न प्रकारका सवारी नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ११९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३२ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने २०८ जना रहेका छन् ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ५७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९५ जना, एकतर्फी सडकमा सवारी चलाउने १२६ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १३९ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई तीव्र बनाइएको जनाएको छ ।
















