नेकपा एमालेले ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएको छ। पार्टीको पुरानो कार्यालय रहेको बल्खुस्थित मैदानमा आयोजित सभामा भण्डारी प्रमुख अतिथि थिइन । पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले बक्ता बनाएको यो पहिलो कार्यक्रम हो । भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार पार्टीले नै प्रमुख अतिथिका रूपमा निम्तो दिएको थियो।
गत वर्ष साउनमा एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। एघारौँ राष्ट्रिय महाधिवेशनपछि उनको राजनीतिक सक्रियता पुनः बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षले उक्त निर्णय गरेको थियो । सो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरूले समर्थन गरेका थिए।
तर आज तिनै पौडेल र पोखरेलहरूले भण्डारीलाई प्रमुख अतिथि बनाएर स्मृति दिवस मनाएका छन् । कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेका उपाध्यक्षत्रय रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की राजन भट्टराई र खगराज अधिकारीलगायत बहुमत पदाधिकारी सहभागी भए। जबकि पार्टी सदस्यता नवीकरणमा रोक लगाएर एमालेको राजनीतिमा आउन नदिने एमालेको निर्णय फेरिएको छैन ।
एमालेकी तत्कालीन उपाध्यक्ष विद्या पहिलोपटक २०७२ कात्तिक ११ मा राष्ट्रपति बनेकी थिइन्। त्यसपछि लगातार दोस्रो कार्यकालका लागि उनी फेरि २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । २०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी थिइन् ।
तर पार्टीको नेतृत्व खोसिने जोखिम बढेपछि एमाले अध्यक्ष ओलीले साउन ६ गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गरेका थिए।
















