लोमान्थाङबाट ५९० कार्टुन भेपसहित ३ जना पक्राउ

Image

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट १ गते राती ५ सय ९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

धादिङ को धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली कार्टुन बक्स(सामान प्याक गर्न प्रयोग गरिने खाली बक्स) समेत रहेको थियो ।

नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीे प्रवक्ता बिष्णु प्रसाद भट्टले जानकराी दिए ।