नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बिदाई गरेको छ । आइतबार क्यानले एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपका लागि टोलीलाई औपचारिक रूपमा बिदाई गरेको हो ।
टोलीको नेतृत्व कप्तान इन्दु बर्मा ले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतो लाई दिइएको छ । टोलीमा सीता रानामगर, सोनी पाख्रिन, सीमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री समावेश छन् ।
त्यस्तै, वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउद रहेका छन् ।
एसियन गेम्स महिला क्वालिफायर यही मे २३ देखि ३१ सम्म हुनेछ भने एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ सम्म सञ्चालन हुनेछ । दुवै प्रतियोगिता मलेसियामा आयोजना हुनेछन् ।
एसियन गेम्सका लागि कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिल्यै छनोट भइसकेका छन् । बाँकी स्थानका लागि नेपालसहित अन्य टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ ।
















