कुवेत एयरवेजले काठमाडौं उडान पुनः सुरु गर्ने, सातामा दुई उडान तालिका सार्वजनिक

Image

कुवेत एयरवेजले काठमाडौं–कुवेत–काठमाडौं रुटमा नियमित उडान पुनः सुरु गर्ने भएको छ । पश्चिम एसियामा देखिएको युद्धका कारण रोकिएको उडान सेवा अब पुनः सञ्चालन गर्न लागिएको एयरवेजले जनाएको छ ।

नयाँ तालिका अनुसार कुवेत एयरवेजले सातामा दुई उडान गर्नेछ । मंगलबार र बिहीबार गरी दुई दिन उडान सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको वेबसाइटअनुसार काठमाडौं–कुवेत रुटको एकतर्फी भाडा न्यूनतम ९११ अमेरिकी डलर (करिब १ लाख ४० हजार रुपैयाँ) तोकिएको छ ।

कुवेत नेपाली श्रमिकको प्रमुख गन्तव्य देशमध्ये एक हो । यसअघि कुवेत एयरवेज तथा जजिरा एयरवेजले नियमित रूपमा काठमाडौं–कुवेत उडान गर्दै आएका थिए । तर पश्चिम एसियाली तनावका कारण उडान प्रभावित भएपछि हवाई सम्पर्क समेत अवरुद्ध भएको थियो ।

उडान पुनः सुरु भएपछि नेपाली श्रमिक र यात्रुहरूलाई यात्रा सहज हुने अपेक्षा गरिएको छ ।