बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज संसद्का दुवै सदनमा छलफल हुँदै

Image

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयारीलाई केन्द्रमा राख्दै सङ्घीय संसद्का दुवै सदनमा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । बजेट प्रस्तुत गर्नुअघि सांसदहरूको सुझाव संकलन गर्ने उद्देश्यले सरकारले यो प्रक्रिया अघि बढाएको हो ।

संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुली ले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावमाथिको प्रक्रियापछि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे औपचारिक छलफल सुरु हुनेछ ।

यसैगरी दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

यता बजेट निर्माणको पूर्वसन्ध्यामा सङ्घीय संसद्अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि आज बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान १० बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमासम्बन्धी विषयमा विभिन्न मन्त्रालयसँग छलफल गरिनेछ ।

बैठकमा आगामी बजेटका प्राथमिकता, विकास योजना तथा मन्त्रालयगत आवश्यकताबारे सम्बन्धित निकायका प्रतिनिधिसँग विस्तृत परामर्श गरिने कार्यतालिका रहेको छ ।