आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा करिब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुलीमा कडाइ, बजार अनुगमनमा तीव्रता तथा कर प्रशासन सुधारका कारण राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो । उनका अनुसार चालु आवको वैशाखसम्म कुल पाँच अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार रुपैयाँ बढी हो ।
संकलित राजस्वमध्ये अन्तशुल्कतर्फ सबैभन्दा बढी तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै आयकरतर्फ एक अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्य अभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ छ करोड ८३ लाख ७७ हजार तथा बहालकरतर्फ एक करोड ५९ लाख ८८ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि आठ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको छ । हालसम्मको प्रगति अनुसार लक्ष्यतर्फको प्रगति सन्तोषजनक रहेको देखिएको छ ।
करदातालाई घरदैलोमै पुगेर सचेत गराउने, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने र कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्ने जस्ता अभियान प्रभावकारी बनेका कारण करिब १० करोड रुपैयाँभन्दा बढी पुरानो बक्यौता समेत असुली भएको प्रमुख सुवेदीले जानकारी दिए ।
















