सेयर बजारमा कारोबार रकम दुई वर्षयताकै न्यून, नेप्से सामान्य अंकले घट्यो

Image

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार कारोबार रकम दुई वर्षयताकै न्यून स्तरमा झरेको छ । दिनभरिमा जम्मा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

पूर्ण चार घण्टा कारोबार भएको दिनका आधारमा हेर्दा यो कारोबार रकम २०८१ वैशाख २४ यताकै सबैभन्दा कम हो । यसअघि बजारमा दैनिक कारोबार रकम २९ अर्ब ९५ करोड रुपैयाँसम्म पुगेको रेकर्ड रहेको छ ।

यद्यपि फागुन २५ गते सर्किट ब्रेकर लागेका कारण छोटो समय मात्रै कारोबार हुँदा ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । उक्त दिन पूरा समय कारोबार नभएकाले कारोबार रकम अस्वाभाविक रूपमा कम देखिएको थियो ।

अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार बजार परिसूचक नेप्से १ दशमलव ०३ अंकले घटेर २७३० विन्दुमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये ११९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

समूहगत सूचकतर्फ बैंकिङ ० दशमलव १४, विकास बैंक ० दशमलव ०३, जलविद्युत् ० दशमलव १६, लगानी ० दशमलव ०९ तथा अन्य समूह ० दशमलव ३१ प्रतिशतले बढेका छन् ।

यता फाइनान्स ० दशमलव ०१, होटल तथा पर्यटन ० दशमलव २३, जीवन बीमा ० दशमलव ०७, उत्पादन तथा प्रशोधन ० दशमलव ५८, माइक्रोफाइनान्स ० दशमलव २४, निर्जीवन बीमा ० दशमलव ६९ तथा व्यापार समूह ० दशमलव ४८ प्रतिशतले घटेका छन् ।

आज इङवा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ४२ प्रतिशतले बढेको छ । त्यस्तै बुंगल हाइड्रोपावर ६ दशमलव ३२ प्रतिशत र सगरमाथा जलविद्युत् कम्पनी ३ दशमलव २८ प्रतिशतले उकालो लागेको छ । यता एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ३ दशमलव ६० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपि पावर र शिवम् सिमेन्ट अगाडि रहेका छन् ।