देशका विभिन्न भागमा जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात सेवा अवरुद्ध तथा आंशिक रूपमा सञ्चालन भइरहेको छ।
कोशी प्रदेश अन्तर्गत भोजपुर र सङ्खुवासभाका सडक बढी प्रभावित भएका छन्। भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडकमार्फत सवारी आवतजावतको व्यवस्था गरिएको छ।
यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीमा खसेको पहिरोले कोशी राजमार्ग प्रभावित बनेको छ। पहिरो पन्छाउने काम जारी रहेकाले हाल सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ।
बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सवारी आवागमन बन्द गराएको जनाएको छ।
गण्डकी प्रदेश मा लमजुङ र म्याग्दी जिल्ला बढी प्रभावित भएका छन्। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङ क्षेत्रमा खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। सडक खुलाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।
कर्णाली प्रदेश अन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका–२ क्षेत्रमा पहिरोको जोखिम बढेपछि हिल्सा–सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ। लगातार वर्षा भइरहेकाले थप जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।














