११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने

Image

शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी १ असारदेखि सुरु गर्ने तयारी गरेको छ। मन्त्रालयले यससम्बन्धी कार्ययोजना तयार पारिसकेको जनाएको छ।

शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार कक्षा सञ्चालनसम्बन्धी फाइल तयार भइसकेको छ र केही दिनभित्र औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ।

यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो। २८ वैशाखमा नतिजा प्रकाशित भएसँगै देशभरका विद्यालयहरूले कक्षा ११ मा विद्यार्थी भर्ना प्रक्रिया तीव्र बनाएका छन्।

मन्त्रालयले शैक्षिक सत्र ढिला हुन नदिन तथा विद्यार्थीको सिकाइ प्रक्रियालाई समयमै अघि बढाउने उद्देश्यले कक्षा चाँडै सञ्चालन गर्न लागेको जनाएको छ। सामुदायिक तथा निजी विद्यालयहरूले पनि १ असारदेखि नियमित कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन्।

यसवर्षको शैक्षिक सत्र १५ वैशाखबाट सुरु गरिएको भए पनि ढिलो सुरुआतका कारण विद्यार्थीको सिकाइमा असर नपर्ने गरी सरकारले वैकल्पिक योजना अघि सारेको छ। सोअनुसार हिउँदे तथा वर्षे बिदा कटौती गर्नुका साथै शुक्रबार पनि पूरा समय पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।