राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन केन्द्रित हुने गरी नेताहरुलाई देशभर खटाउने भएको छ । वडा, पालिका, जिल्लाको भेला/अधिवेशन गराउने गरी नेताहरुलाई जिल्ला–जिल्लामा खटाइएको छ ।
भेला र अधिवेशनको समन्वय गर्ने गरी केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र विभागमा रहेका नेताहरुलाई जिल्ला तोकिएको छ ।
असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको रास्वपाले सबै संरचनाको अधिवेशनको मिति तोकेको छ ।
तदर्थ समिति गठन हुन नसकेका वडाको भेला जेठ २ गते गरिएको थियो । वैशाख २० गते अघि तदर्थ समिति बनेका वडाको अधिवेशन जेठ ३ गते गरिएको छ । अर्को चरणको वडा अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ ।
पालिका भेलाका लागि जेठ ९ गतेको समय तोकिएको छ । पालिका अधिवेशन जेठ १० र १७ गतेका लागि समय निश्चित गरिएको छ । जिल्ला अधिवेशन २३ र २४ गतेको लागि तोकिएको छ । प्रदेश अधिवेशन जेठ २६ गतेबाट सुरु गरेर असार १ गते सक्ने गरी कार्यतालिका बनाइएको छ ।
केन्द्रीय तहबाट खटाइएका प्रतिनिधिहरुलाई कार्यादेश तोकिएको छ । वडा, पालिका, जिल्ला भेला हुन नसकेका स्थानमा केन्द्रीय प्रतिनिधिले समन्वय गरेर भेला बोलाउन सहजीकरण गर्नेछन् । साथै, पार्टी संरचना नबनेको स्थानमा तदर्थ समिति बनाउने र गठन भइसकेका स्थानमा अधिवेशन गराउन समन्वय केन्द्रीय प्रतिनिधिले गर्नेछन् । वडा र पालिकामा ३० प्रतिशत मात्रै अधिवेशन भएपनि उपल्लो तहको अधिवेशन गर्न सकिने गरी रास्वपाले निर्णय गरेको छ ।
















