सेयर बजारमा उत्साह फर्कियो : नेप्से ३० अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ३०.०८ अंकले बढेर २७५४ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन ६ अंकले घटेको बजार आज १.१० प्रतिशतले बढेको हो । कारोबार अवधिभर बजार सकारात्मक रहँदा नेप्से दिनकै उच्च बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये २४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । एनएलजी इन्स्योरेन्सको सेयर मूल्य भने स्थिर रहेको छ ।

सबै उपसमूहका सूचक हरियालीमा देखिएका छन् । हाइड्रोपावर र होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले बढेका छन् । बैंकिङ समूह ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार समूह १.५१ प्रतिशतले बढेका छन् ।

आज अपर लोहोरेखोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो नेपालको ११.८८ प्रतिशत, बुंगल हाइड्रोको ७.५१ प्रतिशत, शिखर पावरको ६.१२ प्रतिशत तथा सिटी होटलको ५.९० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल बालाजुको ३ प्रतिशत तथा कुथेली बुखरी हाइड्रोपावरको २.०७ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर तथा नेसनल हाइड्रोपावर सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा परेका छन् ।