विश्वकप २०२६ : मेसी–रोनाल्डोको अन्तिम यात्रा र लामिन यमलमाथि विश्वको नजर

Image

सन् २०२६ को फिफा विश्वकप २०२६ नजिकिँदै जाँदा विश्वभरका फुटबल समर्थकमा उत्साह बढ्दो छ । विश्वकपमा चम्किने अधिकांश स्टार खेलाडीहरू युरोपका प्रतिष्ठित क्लबहरूमा व्यावसायिक फुटबल खेलिरहेका छन् । क्लब फुटबलको अत्यधिक व्यस्त तालिकाबीच धेरै खेलाडी चोटको जोखिममा परेकाले विश्वकपअघि उनीहरूको फिटनेस ठूलो चासोको विषय बनेको छ ।

यतिबेला सबैभन्दा बढी चर्चा स्पेनका युवा विङ्गर लामिन यमल लाई लिएर भइरहेको छ । बार्सिलोना बाट खेलिरहेका १८ वर्षीय यमल अहिले विश्व फुटबलकै उत्कृष्ट युवा खेलाडीमध्ये एक मानिन्छन् । उनको गति, कौशल र आक्रामक खेलशैलीका कारण आगामी विश्वकपमा उनलाई हेर्न लाखौँ समर्थक उत्साहित छन् । तर लगातार खेलका कारण उनी चोटको जोखिममा रहेको भन्दै समर्थक तथा प्रशिक्षकहरू चिन्तित बनेका छन् ।

यस विश्वकपको अर्को ठूलो आकर्षण भनेका दुई महान् फुटबलर लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो हुनेछन् । फुटबल इतिहासका यी दुई दिग्गज सम्भवतः अन्तिम पटक विश्वकपको मञ्चमा सँगै देखिन लागेका हुन् । त्यसैले पनि सन् २०२६ को विश्वकपलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

मेसीले यसअघि विश्वकप उपाधि जितिसकेका छन् भने रोनाल्डो अझै त्यो उपलब्धिबाट टाढा छन् । यही कारण रोनाल्डो यस पटक उपाधि जित्दै आफ्नो करियरलाई ऐतिहासिक बनाउने लक्ष्यमा छन् । पोर्चुगलको टोलीमा समावेश भएका रोनाल्डो ४१ वर्षको उमेरमा पनि विश्वकप मैदानमा उत्रिने तयारीमा छन् ।

पुराना दिग्गज खेलाडी र नयाँ पुस्ताका स्टारहरू एउटै मञ्चमा देखिने भएकाले सन् २०२६ को विश्वकपलाई अहिलेदेखि नै सबैभन्दा रोमाञ्चक संस्करणका रूपमा हेरिन थालेको छ ।