टोखा नगरपालिका–७ स्थित धापवासी–ग्रीनल्याण्ड आसपासका क्षेत्रमा अतिक्रमित घर–टहरा हटाइएको छ। नगरपालिकाले सडक छेउ तथा सरकारी जग्गामा बनेका अनधिकृत संरचना डोजर प्रयोग गरी हटाएको हो।
नगरपालिकाले यसअघि १५ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको थियो। तर, अटेरी गरेपछि नगरपालिकाले डोजर परिचालन गरी घर–टहरा तथा अस्थायी संरचना भत्काएको हो।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार आज बिहानदेखि धापवासी क्षेत्रमा अभियान सञ्चालन गरी सडक किनार र सरकारी जग्गामा बनेका घर–टहरा, कम्पाउन्ड तथा अन्य अस्थायी संरचना हटाउने काम गरिएको हो।
उनले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान निरन्तर रहने बताउँदै कानुनी व्यवस्था पालना गर्न सबैलाई आग्रह समेत गरेका छन्।















