विश्वासको मत लिँदै मुख्यमन्त्री यादव, मधेशमा नयाँ सत्ता समीकरण

Image

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।यसअघि जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन बैठक बोलाइएको थियो । तर आफ्नै दल नेपाली कांग्रेसभित्रको असन्तुष्टि र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थनबारे स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री यादव पछि हटेका थिए ।

विश्वासको मत लिनु अघिल्लो दिन मधेश प्रदेशको सत्ता समीकरण नै फेरिएको छ । मुख्यमन्त्री यादवले जसपा नेपाललाई सरकारबाट बाहिर गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सरकारमा सहभागी गराएका छन् ।मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समिर लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

यससँगै मधेश प्रदेशमा नेपाली कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ गठबन्धन बनेको छ । नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री यादवले जसपा नेपाल र जनमत पार्टीका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए ।जनमत पार्टीबाट सरकारमा रहेका अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहा ले राजीनामा दिएका छन् । तर जसपा नेपालका मन्त्रीहरूले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको हो ।

बर्खास्त हुने मन्त्रीहरूमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन् ।नयाँ तीन दलीय गठबन्धनसँग मधेश प्रदेशसभामा स्पष्ट बहुमत रहेको छ । १०७ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन ५४ मत आवश्यक पर्छ । हाल लोसपा जसपा नेपालमा समाहित भएपछि जसपाको २६ सिट रहेको छ भने दुई सांसद निलम्बनमा छन् ।प्रदेशसभामा एमालेसँग २४, कांग्रेससँग २२ र नेकपासँग १५ सिट रहेको छ । यसअनुसार नयाँ गठबन्धनसँग कुल ६१ सांसदको समर्थन पुग्ने देखिएको छ ।यता विपक्षमा रहेको जनमत पार्टीसँग १२ सिट छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टी का एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् ।