रोनाल्डोले पहिलोपटक उचाले साउदी प्रो-लिगको उपाधि

Image

क्रिस्टियानो रोनाल्डो ले पहिलो पटक साउदी अरेबियाको शीर्ष फुटबल प्रतियोगिता साउदी प्रो लिगको उपाधि जितेका छन्।

सिजनको अन्तिम दिन बिहीबार राति भएको निर्णायक खेलमा अल नासर ले दमक क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै लिग उपाधि आफ्नो नाममा गरेको हो।

उपाधि जितेको खेलमा रोनाल्डो चम्किएका थिए। उनले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। रोनाल्डो अल नासरमा आबद्ध भएपछि क्लबले पहिलो पटक साउदी प्रो लिगको उपाधि जित्न सफल भएको हो।

अल नासरले साउदी फुटबलमा प्रभुत्व कायम गर्ने लक्ष्यसहित रोनाल्डोलाई कीर्तिमानी पारिश्रमिकमा अनुबन्ध गरेको थियो। क्लबले यसअघि सन् २०१९ मा अन्तिम पटक साउदी प्रो लिगको उपाधि जितेको थियो।

म्यानचेस्टर युनाइटेड छाडेपछि विभिन्न अड्कलबाजीबीच रोनाल्डो साउदी पुगेका थिए। तर त्यहाँ पुगेपछि उनले लामो समयसम्म कुनै घरेलु उपाधि जित्न सकेका थिएनन्। यसपटक भने उनले त्यो प्रतीक्षा अन्त्य गरेका छन्।

यससँगै रोनाल्डोले साउदी प्रो लिगमा आफ्नो १००औँ गोल पूरा गरेका छन्। सबै प्रतियोगिता गरी अल नासरका लागि उनले हालसम्म १२९ गोल गरिसकेका छन्।