मालदिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश

Image
काठमाडौँ, ९ जेठः काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानका खेलाडी प्रतिस्पर्धा गर्दै नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार जारी काभा महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाल र किर्गिस्तानका खेलाडी । तस्बिर : किरणराज विष्ट/रासस

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित दर्ता गर्दै काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा स्थान पक्का गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै  नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो। 

समूह चरणको अन्तिम खेलमा नेपालले मालदिभ्सलाई २५-१२, २५-९ र २५–२० ले पाखा लगायो। 

जितसँगै नेपालले अंक तालिकामा सात अंक जोडेको  छ। ५ अंक भएको भारत दोस्रो स्थानमा छ। किर्गिस्तान ३ अंकमा तेस्रो स्थानमा छ। मालदिभ्सले भने समूह चरणमा अंक जोड्न सकेन। 

समूह चरणको अन्तिम खेलमा सोमबार भारत र किर्गिस्तान खेल्नेछन्। यो खेलले सेमिफाईनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। सो खेलमा भारत सोझो सेटमा पराजित भए किर्गिस्तान सेमिफाईनलमा पुग्नेछ। 

समूह चरणको पहिलो खेलमा घरेलु टोली नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो। दोस्रो खेलमा भने किर्गिस्तानलाई ३-० को सोझो सेटम हराएको थियो। 

आजै भएको पहिलो खेलमा ईरानले श्रीलंकालाई २५-१६,२५-१३ र २५-११ ले सहजै हरायो। दोस्रो खेलमा कजास्तानले बंगलादेशलाइ ३-० को सोझो सेटमा पाखा लगायो। 

च्याम्पियनसिपमा सोमबार तीन खेल हुनेछ। पहिलो खेलमा बंगलादेश र श्रीलंका तथा दोस्रो खेलमा भारत र किर्गिस्तान भिड्नेछन्। दिनको अन्तिम खेलमा ईरान र कजाकस्तान खेल्नेछन्।

खेलको प्लेअर अद द म्याच नेपाली टोलीकी क्याप्टेन निरुता ठगुन्ना भइन्।