उच्चस्तरीय भ्रमणमा आएको नेपालका लागि युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने भएको छ नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा सदस्य राष्ट्रहरूका २२ जना राजदूत तथा उप–मिसन प्रमुखहरू सहभागी रहेका छन् । ईयूले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणको उद्देश्य शाह नेतृत्वको सरकारसँग भेटघाट गर्नुका साथै ईयू र नेपालबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको छ ।
प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन तथा स्विडेनका राजदूत तथा उप–राजदूतहरू सहभागी छन् ।। यसअघि विदेशी कूटनीतिज्ञहरूसँग औपचारिक भेटघाट नगरेका प्रधानमन्त्री शाहले पहिलोपटक ईयूको प्रतिनिधिमण्डललाई सामूहिक रूपमा भेट्न लागेका हुन् ।
प्रतिनिधिमण्डलले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका साथै निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा युवा नेताहरूसँग पनि भेट गर्नेछन् ।
भ्रमण टोली प्रमुख लोरेन्जोले नेपालप्रति ईयूको प्रतिबद्धता अझ स्पष्ट रूपमा देखिएको बताउँदै नयाँ सरकारलाई बधाई दिन, नेपालको विकास प्राथमिकतामा समर्थन पुनः पुष्टि गर्न तथा व्यापार, लगानी, जलवायु कार्य र बहुपक्षीय मुद्दामा सहकार्य विस्तार गर्ने उद्देश्यसहित भ्रमण गरिएको उल्लेख गरिन् ।
‘यो भ्रमणले नेपालप्रति ईयूको प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ । हामी यहाँ नयाँ सरकारलाई बधाई दिन, नेपालको विकास प्राथमिकताप्रति हाम्रो समर्थन पुन: पुष्टि गर्न, तथा व्यापार, लगानी, जलवायु कार्य र बहुपक्षीय मुद्दाजस्ता क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू खोज्न आएका हौँ’, भ्रमण टोली प्रमुख लोरेन्जोले भनिन्, ‘टिम युरोपका रूपमा, हामी नेपालसँग मिलेर अझ समृद्ध, दिगो तथा समावेशी भविष्य निर्माण गर्न सहकार्य गर्न तयार छौँ ।’
उनले “टिम युरोप” का रूपमा ईयू नेपालसँग मिलेर समृद्ध, दिगो र समावेशी भविष्य निर्माणका लागि सहकार्य गर्न तयार रहेको पनि बताइन् ।














