नेप्से नौ अङ्कले घट्यो, चार अर्ब ८५ करोडको कारोबार

Image

नेपाली धितोपत्र बजारमा मंगलबार शेयर कारोबार परिसूचक नेप्से घटेर बन्द भएको छ । लगातार उतारचढावबीच बजारमा आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले घट्दै दुई हजार ७७७ दशमलव १० बिन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि एक दशमलव ४५ अङ्कले घटेर ४७४ दशमलव २९ बिन्दुमा सीमित भएको छ ।

आजको कारोबारमा कुल ३४० कम्पनीका एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीहरूमध्ये ६९ कम्पनीको शेयर मूल्य बढ्दा १९० कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, साहस ऊर्जा, ङ्यादी ग्रुप पावर र अपि पावर कम्पनी शीर्ष स्थानमा रहेका छन् ।

दिनभरको कारोबारमा कालिञ्चोक हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था तथा नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

यता, सुपर खुदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, एनआइसी एसिया बैंक र सालपा विकास बैंकका शेयरधनीले भने घाटा व्यहोरेका छन् ।