अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारको दिशामा अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले नेपालको अर्थतन्त्र अहिले महत्त्वपूर्ण मोडमा रहेको भन्दै उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारको दिशामा अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए ।
कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनुपर्ने उनले बताए । बैंकले जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री वाग्लेले बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउँदै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे ।
नेपाल बैंक लिमिटेडको ऐतिहासिक गौरवलाई भविष्यको सफलतामा रूपान्तरण गर्नु साझा जिम्मेवारी भएको उनको भनाइ छ । उनले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सवलीकरण र वित्तीय स्थायीत्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा लामो समय कार्य गरेका कर्मचारीलाई दिर्घसेवा पदक तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने बैंकको डिजिटल लोन प्रोडक्टको शुभारम्भ गरिएको थियो ।













