पूजाको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

Image
KLANG, MALAYSIA - MAY 27: Pictures from the match between Nepal and China during the Asian Games Qualifier Women's 2026 at Bayuemas Oval on May 27, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

 पूजा महतोको अर्धशतकप्रेरित नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटमा चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङका लागि आएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको हो ।   

नेपालकी पूजाले ६३ रनको इनिङ खेलिन् । उनले ५७ बलमा ६ चौका प्रहार गरिन् । रुवी पोदारले अविजित २२ र सोनी पाख्रिनले १८ रन बनाए ।चौथो विकेटका निम्ति पूजा र रुवीले ६४ रनको साझेदारी गरेका थिए ।  चीनकी मा रुइकले दुई विकेट लिइन् । वाङ हुइयिङ र जियापिङ लीले समान एक विकेट हात पारे  । 

नेपाल सुखद् सुरुआतको लक्ष्यमा रहँदा चीन भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने सोचमा छ ।  चीनले मंगलबार सम्पन्न पहिलो खेलमा इन्डोनेसियाविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको थियो ।  यसअघि, नेपाल र चीनले दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुवै खेलमा नेपाल विजयी भएको छ । 

नेपालले पहिलोपटक सन् २०१९ को जनवरीमा चीनसँग पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । उक्त खेलमा नेपालले १० विकेटको जित दर्ता गरेको थियो ।  पछिल्लोपटक नेपालले सन् २०१९ कै फेब्रुअरीमा चीनको सामना गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पाँच रनले विजयी भएको थियो ।