दिगो विकास लक्ष्य पूरा गर्न नेपाललाई थप ७ खर्ब ५५ अर्ब लगानी आवश्यक

Image

नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन आगामी चार वर्षभित्र थप ७ खर्ब ५५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ ।बुधबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रतिवेदनले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न आवश्यक लगानी, प्रगति र चुनौतीबारे विस्तृत विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

प्रतिवेदनअनुसार नेपालले सन् २०३० भित्र दिगो विकास लक्ष्यका सूचकहरू पूरा गर्न सके मात्रै विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने अवसर सुरक्षित रहनेछ । त्यसका लागि कुल लक्ष्य सूचकमध्ये ९४ दशमलव ८५ प्रतिशत उपलब्धि हासिल गर्नुपर्ने उल्लेख गरिएको छ ।तर हालसम्म नेपालको प्रगति ६८ दशमलव ५८ स्कोरमा सीमित रहेको सर्वेक्षणले देखाएको छ । अघिल्लो वर्ष यही सूचक ४० दशमलव ४ प्रतिशत रहेको थियो । यस आधारमा एक वर्षमै करिब २८ प्रतिशतले सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले पछिल्ला वर्षहरूमा सामाजिक क्षेत्र, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगे पनि दिगो विकास लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न अझै ठूलो वित्तीय स्रोत आवश्यक पर्ने देखिएको हो ।आर्थिक सर्वेक्षणले विशेषगरी पूर्वाधार विकास, उत्पादनमूलक उद्योग, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार र जलवायु अनुकूल विकासमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रतिवेदनमा पर्याप्त लगानी, नीतिगत स्थायित्व र प्रभावकारी कार्यान्वयन बिना दिगो विकास लक्ष्य समयमै हासिल गर्न चुनौतीपूर्ण हुने चेतावनी पनि दिइएको छ ।