इन्डोनेसियाले एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको हो ।
इन्डोनेसियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् । उनले ६२ बलमा तीन चौका प्रहार गरिन् । नी लुह देवीले २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन जोडे ।
तेस्रो विकेटका निम्ति सकरिनी र देवीले ६५ रनको साझेदारी गरेका थिए । नेपालकी मनीषा उपाध्यायले दुई विकेट लिइन् । रीया शर्माका नाममा एक विकेट रह्यो । नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा छ । इन्डोनेसिया पनि जित निकाल्दै सेमिफाइनल सम्भावनालाई जीवितै राख्न चाहन्छ ।















