एकैदिन सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले वृद्धि

Image

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ। एकैदिन सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले घटेको थियो भने शुक्रबार फेरि उकालो लागेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ रहेको थियो।यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।गत शुक्रबार भने चाँदीको मूल्य प्रतितोला ५ हजार ११५ रुपैयाँ कायम भएको थियो।