नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेल ले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।भुर्तेलले खेलको नवौं ओभरमा लगातार ६ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने नेपालका दोस्रो तथा विश्वका छैटौं खेलाडी बन्न सफल भएका हुन्।
यसअघि नेपालका दीपेन्द्रसिंह ऐरी ले सन् २०२४ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गर्दै उक्त उपलब्धि हासिल गरेका थिए।भुर्तेलले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै मात्र ३२ बलमा अविजित ९४ रन बनाएका छन्। उनको इनिङ्समा आक्रामक चौका–छक्काको वर्षा देखिएको थियो। समाचार तयार पार्दासम्म नेपालले १० ओभरमा १ विकेट गुमाएर १३५ रन बनाइसकेको थियो।अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीहरूको सूचीमा अब भुर्तेलको नाम पनि थपिएको छ। यसअघि हर्षल गिब्स, युवराज सिंह, काइरन पोलार्ड, जसकरण मल्होत्रा तथा दीपेन्द्रसिंह ऐरीले यो दुर्लभ कीर्तिमान बनाइसकेका छन्।
दक्षिण अफ्रिकाका हर्षल गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध पहिलोपटक एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। त्यसैगरी भारतका युवराज सिंहले सोही वर्ष टी–२० विश्वकपमा इंग्ल्यान्डका बलर स्टुअर्ट ब्रोडविरुद्ध यो उपलब्धि दोहोर्याएका थिए।कुशलको यो आक्रामक प्रदर्शनले नेपाललाई विशाल योगफलतर्फ अघि बढाएको छ भने नेपाली क्रिकेट इतिहासमा अर्को स्वर्णिम अध्याय समेत थपिएको छ।
















