धवलशमशेर राणाले नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्। आइतबार काठमाडौंमा राप्रपाका असन्तुष्ट नेताहरूबीच भएको छलफलपछि राणाले विज्ञप्ति जारी गर्दै नयाँ राष्ट्रवादी अभियान अघि बढाउने संकेत दिएका हुन्।जारी विज्ञप्तिमा उनले आफूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ आगामी राजनीतिक यात्रा तय गर्ने निर्णय गरेको बताएका छन्। विज्ञप्तिमा राणाले आफ्नो राप्रपाभित्रको पद वा जिम्मेवारीबारे भने कुनै उल्लेख गरेका छैनन्।
उनले देशको समृद्धि र राष्ट्रिय हितका पक्षमा उभिने सबै राष्ट्रवादी शक्ति, समर्थक तथा युवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्।“देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू तथा नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।
राणाले विगत चार वर्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जनभावनाअनुकूल दिशामा अघि बढाउने प्रयास गरेको तर त्यसमा अपेक्षित सफलता हासिल गर्न नसकिएको स्वीकार गरेका छन्।उनले पार्टीभित्रको वैचारिक द्विविधा, विरोधाभास र गलत राजनीतिक दिशाका कारण राप्रपा जनताबाट दण्डित भएको टिप्पणी गरेका छन्।
यद्यपि, राप्रपामा रहने निर्णय गरेका नेताहरू र कार्यकर्ताप्रति कुनै वैरभाव नरहेको स्पष्ट गर्दै उनले समान विचार भएका राष्ट्रवादी शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन्।राणाको यो घोषणालाई राप्रपाभित्र देखिएको असन्तुष्टि र सम्भावित नयाँ राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।
















