काठमाडौं महानगरपालिकाले आइतबार सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने परीक्षार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ।
आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी भएका थिए। उनीहरूले महानगरभित्रका ८३ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए।महानगरपालिकाले परीक्षा सम्पन्न भएको २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरेको हो। यो छात्रवृत्ति कार्यक्रम महानगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरिएको हो।महानगरपालिकाका अनुसार परीक्षार्थीहरूले अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ।
काठमाडौं महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णयमार्फत महानगर क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालन गर्ने निजी (संस्थागत) विद्यालयहरूमा छात्रवृत्ति प्रदान गर्न प्रवेश परीक्षा सञ्चालन गर्दै आएको छ।महानगरका अनुसार यो कार्यक्रममार्फत गत वर्षसम्म देशभरका करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन्।
गत वर्ष सञ्चालन गरिएको छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए भने १० हजार ८६७ जना उत्तीर्ण भएका थिए। उत्तीर्ण भएकामध्ये करिब ४ हजार ५०० विद्यार्थीले मात्र छात्रवृत्ति प्राप्त गरेका थिए।यस वर्ष भने परीक्षार्थीको संख्या झण्डै दोब्बरले बढेको छ। महानगरपालिकाले गत वर्षको तुलनामा यस वर्ष केही बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ।















