नेपाली पुरुष क्रिकेट टोली जापानमा आयोजना हुने आगामी एसियन गेम्सका लागि छनोट भएको छ।एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको समूह ‘ए’ को खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपाल र मलेसिया दुवै टोलीले एसियन गेम्समा स्थान सुरक्षित गरेका हुन्।
सात टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ। सेमिफाइनल पुग्ने चारवटै टोलीले एसियन गेम्समा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।नेपाल रहेको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि समूहमा तीन टोली मात्र बाँकी रहेका थिए। नेपालले चीनलाई पराजित गरेपछि एक जित हात पारेको थियो भने मंगलबार मलेसियाले पनि चीनलाई हराउँदै शीर्ष दुई टोलीको टुंगो लागेको हो।
नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गर्दै बलियो सुरुआत गरेको थियो। अब नेपाल र मलेसियाबीच बिहीबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ।यसअघि नेपाली महिला क्रिकेट टोली भने चीनसँग पराजित हुँदै एसियन गेम्स छनोट हुन असफल भएको थियो। पुरुष टोलीको सफलतासँगै नेपालले एसियन गेम्स क्रिकेट प्रतियोगितामा आफ्नो उपस्थिति सुनिश्चित गरेको छ।
















