विश्वकपमा जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपको रोक

Image

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको छ।

फिफा विश्वकप २०२६ अन्तर्गतको कार्यक्रममा सहभागी हुन विदेश जान रोक लगाइएको निर्णय फिर्ता गराउन एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई सोमबार राखेप पुगेका थिए।

उनीहरूले विदेश भ्रमणमा लगाइएको रोक हटाइदिन आग्रह गरे पनि तत्कालका लागि उक्त निर्णय फिर्ता नलिइने राखेपले जनाएको छ। राखेपका सदस्य सचिव रामचरित्र मेहता ले हालको अवस्थामा एन्फा पदाधिकारीलाई विदेश जान अनुमति दिन नसकिने जानकारी दिए।

स्रोतका अनुसार विदेश जाने बाटो खुला गराउन एन्फा पदाधिकारीहरू यसअघि अध्यागमन विभाग पनि पुगेका थिए। तर अध्यागमन विभागले आवश्यक सिफारिस राष्ट्रिय खेलकुद परिषद्बाट नै ल्याउनुपर्ने बताएको थियो। त्यसपछि उनीहरू थप पहलका लागि राखेप पुगेका हुन्।

राखेपको निर्णयपछि एन्फा पदाधिकारीहरूको विदेश भ्रमण अन्योलमा परेको छ। विदेश यात्रामा लगाइएको रोकको कारण र त्यसबारेको थप प्रक्रिया भने सार्वजनिक गरिएको छैन।