फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

Image

विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ आज रातिबाट सुरु हुँदैछ। फुटबल इतिहासमै पहिलोपटक अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उद्घाटन नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ।जुलाई १९ मा न्युयोर्कमा समापन हुने प्रतियोगिताको सुरुवात तीनवटै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित गरिनेछ। पहिलो उद्घाटन समारोह मेक्सिको सिटी स्टेडियममा, दोस्रो क्यानडाको टोरन्टोमा र तेस्रो अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ।

विश्वकपको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।यस संस्करणको विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन्। यसअघि ३२ राष्ट्र मात्र सहभागी हुँदै आएका थिए। टोली संख्या बढेसँगै प्रतियोगिताको दायरा पनि विस्तार भएको छ। १६ सहरका १६ रंगशालामा सञ्चालन हुने प्रतियोगितामा यसपटक कुल १०४ खेल खेलाइनेछन्। अघिल्लो संस्करणहरूमा भने ६४ खेल मात्र हुने गरेका थिए।

पाँच पटकको विश्व विजेता ब्राजिल लगातार २३औँ पटक विश्वकपमा सहभागी हुँदैछ। उपाधिका प्रमुख दाबेदारका रूपमा साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन, नेदरल्यान्ड्स र ब्राजिललाई हेरिएको छ।यसपटक उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डनले पहिलोपटक विश्वकप खेल्दै छन्। त्यस्तै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा विश्वकप इतिहासमा आफ्नो पहिलो जितको खोजीमा रहनेछन्।

यता चार पटकको विश्व च्याम्पियन इटालीसहित पोल्यान्ड, डेनमार्क, अफ्रिकी फुटबलका शक्तिशाली राष्ट्र नाइजेरिया र क्यामरुन भने यसपटक विश्वकपमा स्थान बनाउन असफल भएका छन्।विश्व फुटबलका चर्चित स्टार खेलाडीहरू पनि यस संस्करणको प्रमुख आकर्षण रहनेछन्। ब्राजिलका नेयमार, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बाप्पे तथा स्पेनका युवा सनसनी लामिन यामाललगायत खेलाडीहरू विश्वकप मैदानमा उत्रिनेछन्।

विस्तारित ढाँचा, नयाँ राष्ट्रहरूको सहभागिता र विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूको उपस्थितिका कारण फिफा विश्वकप २०२६ लाई अहिलेसम्मकै सबैभन्दा भव्य, प्रतिस्पर्धात्मक र रोमाञ्चक संस्करणका रूपमा हेरिएको छ।