र्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी बलका एक जना सहायक हबलदारको मृत्यु भएको छ भने अर्का एक प्रहरी जवान घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आइतबार बिहान करिब ५ बजेतिर बाँसगढी नगरपालिका क्षेत्रमा पर्ने लालपुरस्थित सडकमा बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिँदा सशस्त्र प्रहरी सहायक हबलदार तिलक कँडेलको मृत्यु भएको हो।
मृतक कँडेल बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर निवासी ३५ वर्षीय हुन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।उक्त दुर्घटनामा सशस्त्र प्रहरी जवान दीपक कुमार शाह पनि गम्भीर घाइते भएका छन्। बाँसगढी नगरपालिका–८ ककौरा निवासी ३५ वर्षीय शाहलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।दुवै प्रहरी कर्मचारी फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत रहेका थिए।
दुर्घटनामा ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरी निवासी ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन्। उनको बर्दिया जिल्ला अस्पताल, गुलरियामा उपचार भइरहेको छ।प्रहरीका अनुसार अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैँसी र एउटा पाडोलाई नियन्त्रणमा लिने क्रममा उक्त दुर्घटना भएको हो। ट्रकको ठक्करबाट एउटा भैँसी समेत मरेको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।















