नेपाल–चीन उत्तरी कोरलानाकाबाट ११ दिनको अवधिमा ५४३ टन चिनियाँ फलफूल नेपाल भित्रिएको छ। भारी वर्षा र हिमपातपछि कोरलानाकाबाट आयात भएका फलफूल गन्तव्यसम्म पुर्याउन नसक्दा कुहिने तथा बिग्रने जोखिम बढेको छ।
लोमान्थाङ–४, न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार पछिल्लो ११ दिनमा कोरलानाका हुँदै स्याउ, आँप र ड्रागन फ्रुटलगायत चिनियाँ फलफूल नेपाल भित्रिएका हुन्।
क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार उक्त अवधिमा ८७ दशमलव ३०० टन स्याउ, १६ दशमलव १०० टन आँप र आठ दशमलव ३१६ टन ड्रागन फ्रुट आयात भएको छ।
भारी वर्षा र हिमपातपछि असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा आयातित फलफूल ढुवानीमा समस्या भएको हो। लामो समयसम्म कन्टेनरभित्रै फलफूल थन्किएपछि सड्ने र बिग्रने जोखिम बढेको छ।
यसैबीच, ढुवानीमा भएको ढिलाइका कारण मुस्ताङको जोमसोममा बिहीबार एक कन्टेनर ड्रागन फ्रुट स्थानीयलाई वितरण गरिएको छ। कम्पनीका प्रतिनिधि सुवास सुनुवारका अनुसार करिब आठ टन ड्रागन फ्रुट बोकेको कन्टेनर समयमै गन्तव्यमा पुर्याउन नसकिएपछि कुहिनबाट जोगाउन स्थानीयलाई वितरण गरिएको हो।
सुनुवारका अनुसार उक्त ड्रागन फ्रुटको मूल्य करिब २४ लाख ५० हजार रुपैयाँ थियो। ड्रागन फ्रुटको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्वसमेत जोड्दा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
सडक अवरुद्ध हुँदा आयातित फलफूलको ढुवानी प्रभावित हुनुका साथै व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।















