अमेरिकी र इरानी अधिकारीहरूले आइतबार दुवै देशबीचको युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुन: खोल्ने उद्देश्यसहितको शान्ति ढाँचामा सहमति भएको बताएका छन् ।
यस सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आगामी जुन १९ तारिख शुक्रबार स्विट्जरल्यान्डमा आयोजना हुने बताइएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो जानकारी दिएका हुन् । उनले आफ्नो देशको मध्यस्थकर्ताको भूमिकामा अमेरिका र इरान शान्ति प्रक्रियामा सहमत भएको जानकारी दिएका हुन् ।
शरीफको भनाइ सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानसँग शान्ति सम्झौता टुंगोमा पुगेको जानकारी दिएका छन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि अमेरिकासँग भएको सम्झौताको पुष्टि गरेको छ । उसले लेबनानसहित सबै मोर्चामा तत्काल युद्धविराम र इरानी बन्दरगाहहरूमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अब अन्त्य हुने जनाएको छ ।
वक्तव्यमा भनिएको छ, ‘भएका सहमतिका आधारमा लेबनानसहित सबै मोर्चामा जारी युद्ध र सैन्य कारबाही आज रातिदेखि तत्काल तथा स्थायी रूपमा अन्त्य हुनेछ । साथै, इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी पनि तत्काल र पूर्ण रूपमा हटाइनेछ ।’
पाकिस्तानका प्रधानमन्त्री शरीफका अनुसार अमेरिका र इरान लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्न सहमत भएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शरीफले एक्स अकाउन्टमा लेखेका छन्, ‘गहन तथा निरन्तर वार्तापछि हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्न पाउँदा खुसी छौं । दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेका छन् । यस सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आगामी जुन १९ शुक्रबार स्विट्जरल्यान्डमा आयोजना हुनेछ ।’
पाकिस्तानले द्वन्द्वको कूटनीतिक समाधान खोज्न प्रतिबद्धता जनाएकोमा अमेरिका र इरानलाई धन्यवाद व्यक्त गरेको छ । साथै, यस मध्यस्थता प्रयासमा सहयोग पुर्याई सम्झौता सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कतार, साउदी अरब र टर्कीका नेतृत्वप्रति पनि आभार व्यक्त गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री शरीफले एक्स अकाउन्टमार्फत यो जानकारी दिएको केही समयपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग शान्ति सम्झौता टुंगोमा पुगेको जानकारी दिएका छन् ।
‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब सम्पन्न भएको छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार वाशिङ्टन समयअनुसार साँझ करिब ५:३० बजे आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् ।
अब सम्झौता सम्पन्न भइसकेपछि मध्यस्थकर्ताहरूले यसै साता विभिन्न चरणका बैठकहरू सहजीकरण गर्ने बताइएको छ । कार्यान्वयनअघि हुने यी छलफलहरूले प्राविधिक वार्ता तथा औपचारिक हस्ताक्षर समारोहका लागि आधार तयार गर्नेछन् ।
अमेरिका र इरानबीचको शान्ति सम्झौता भएपछि महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजबाट पुन: निर्वाध तेल ढुवानी सुरु हुने र इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको छ ।
गत फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपश्चिम क्षेत्र तनावग्रस्त भएको थियो भने इन्धन ढुवानी प्रभावित भएपछि मूल्य पनि आकासिएको थियो ।














