पोर्चुगलको फुटबल टोलीले विश्वकपमा डियोगो जोटाको सम्झनामा विशेष रिस्टब्यान्ड लगाउने

Image

पोर्चुगलले आगामी फिफा विश्वकप अभियानमा आफ्ना पूर्व अन्तर्राष्ट्रिय खेलाडी डियोगो जोटाको सम्झनामा विशेष श्रद्धाञ्जली अर्पण गर्ने भएको छ । टोलीका मिडफिल्डर भिटिन्हाले शनिबार डीआर कंगोविरुद्धको समूह ‘के’ को पहिलो खेलअघि खेलाडीहरूले विशेष स्मारक रिस्टब्यान्ड लगाएर मैदान उत्रने जानकारी भएका हुन्।

ती रिस्टब्यान्ड पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले खेलाडीहरूलाई हस्तान्तरण गरेका थिए। रिस्टब्यान्डमा वर्तमान टोलीका सबै सदस्यहरूको नाम समावेश गरिएको छ भने गत वर्ष स्पेनको उत्तरपश्चिम क्षेत्रमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका डियोगो जोटाप्रति विशेष सम्मान व्यक्त गरिएको छ।

सन् २०२५ मा स्पेनको उत्तरपश्चिम क्षेत्रमा भएको सवारी दुर्घटनामा जोटा र उनका भाइको निधन भएको थियो। ४९ अन्तर्राष्ट्रिय खेल खेल्दै १४ गोल गरेका जोटा पोर्चुगिज फुटबलका प्रिय खेलाडीमध्ये एक मानिन्छन्।

भिटिन्हाका अनुसार प्रधानमन्त्रीले खेलाडीहरूलाई रिस्टब्यान्ड खेलका क्रममा वा अन्य समयमा प्रयोग गर्ने वा नगर्ने निर्णय आफैं गर्न दिएका थिए। टोलीले भने जोटाप्रतिको सम्मानस्वरूप विश्वकपका खेलहरूमा रिस्टब्यान्ड लगाउने निर्णय गरेको हो। “हामीले यो उपहार धेरै माया र सम्मानका साथ स्वीकार गरेका छौं। त्यसैले यसलाई प्रयोग गर्ने निर्णय गरेका हौं,” भिटिन्हाले भने।

पोर्चुगलले बुधबारबाट आफ्नो विश्वकप यात्रा सुरु गर्दैछ। पछिल्ला वर्षहरूमा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई उपाधिको दाबेदारका रूपमा हेरिए पनि भिटिन्हाले विनम्रता नै सफलताको मुख्य आधार हुने बताएका छन्।

उनले टोलीमा पर्याप्त प्रतिभा र क्षमता भए पनि प्राविधिक तथा रणनीतिक पक्षमा उत्कृष्ट प्रदर्शन गर्न सके मात्र विश्वकपमा टाढासम्म पुग्न सकिने उल्लेख गरे। यसपटकको विश्वकप तीन देशमा आयोजना भइरहेकाले लामो यात्रा र फरक–फरक मौसमीय अवस्थाले टोलीहरूलाई अतिरिक्त चुनौती थप्ने भिटिन्हाको भनाइ छ।