चीनसँगको उत्तरी सीमानाका तातोपानी आज (शुक्रबार) देखि खुला गरिएको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो ।
गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।
विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै आजदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।
लामो समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि स्थानीय हर्षित देखिएका छन् । खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ ।स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।












