फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा क्यानडाले कतारविरुद्ध ६-० को जित दर्ता गरेको छ। १० जना खेलाडीको फाइदा उठाउँदै क्यानाडाले कतारविरुद्ध गोलको वर्षा गरेको हो। यो जितले विश्वकपको आगामी यात्राका लागि क्यानडालाई थप मजबुद बनाएको छ।
भ्यान्कुभरको बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा कतारमाथि लगातार हावी भयाे। क्यानडा फिफा विश्वकप–२०२६ को सहआयोजक पनि हो।
क्यानडाको यस एकपक्षीय जितमा उसका स्टार स्ट्राइकर जोनाथन डेभिडले ह्याट्रिक गरेका छन्। उनले खेलको २९ औं, ४८ औं र ९२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् ।
खेलको सुरुदेखि नै क्यानडाले कतारलाई पूर्ण दबाबमा राखेको थियो। खेलको १६औँ मिनेटमा सायल लारिनले गोल गर्दै क्यानडाको खाता खोलेका थिए।
त्यसपछि जोनाथन डेभिडले खेलको २९औँ मिनेट अर्को गोल थपे। कतारका होमाम अहमद ३३ औँ मिनेटमा रेडकार्ड पाएर बाहिरिएपछि कतार १० खेलाडीमा सीमित बन्यो।
पहिलो हाफको इन्जुरी समयमा कतारको डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को अग्रता दिलाए।
क्यानडाका लागि चौथो गोल डिलन सालिबाले ६४ औँ मिनेटमा गरे। ७५ औँ मिनेटमा कतारका मोहम्मद अल–मन्नाईले आत्मघाती गोल गर्दा क्यानडा ५–० को स्थितिमा आयो।
खेलको ९२ औँ मिनेटमा जोनाथन डेभिडले टिमका लागि छैटौँ र व्यक्तिगत ३ गोल गर्दै ह्याट्रिक पूरा गरे। विश्वकप इतिहासमा क्यानडाको पहिलो जित निकालेको हो। यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन।
यो जितसँगै क्यानडा २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान ३ अंक भएको स्विट्जरल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। बोस्निया एन्ड हर्जगोभिना र कतारको समान एक-एक अंक छ।














