स्विट्जरल्यान्डमा तय भएको अमेरिका–इरान वार्ता स्थगित

Image

अमेरिका र इरानबिच शुक्रबार हुने तय गरिएको वार्ता स्थगित भएको छ । स्विट्जरल्यान्डको विदेश मन्त्रालयले वार्ता हालका लागि रोकिएको पुष्टि गर्दै नयाँ मिति तय नभएको जनाएको छ । वार्ता स्विट्जरल्यान्डको पहाडी रिसोर्ट क्षेत्र बुर्गेनस्टकमा हुने तय थियो । मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड अझै पनि वार्ता सहज बनाउन तयार छ र त्यसका लागि आवश्यक पूर्व तयारीको काम भने जारी छ ।

तर, वार्ता किन स्थगित गरियो भन्ने विस्तृत कारण सार्वजनिक गरिएको छैन । यसअघि नै अमेरिकी ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्स तय कार्यक्रमअनुसार स्विट्जरल्यान्ड नजाने जानकारी दिएको थियो । वार्तासम्बन्धी प्राविधिक तयारी पूरा नभएकाले उनको यात्रा रोकिएको बताइएको थियो ।

उपराष्ट्रपति भान्सले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै आफू स्विट्जरल्यान्ड जान तयार रहेको बताएका थिए, तर समय अझै निश्चित नभएको स्वीकार गरेका थिए । उनका अनुसार इरानसँगको प्राविधिक वार्ता सप्ताहान्तमा सुरु गर्ने योजना थियो र उनी अमेरिकी वार्ता टोलीको नेतृत्व गर्ने तयारीमा थिए ।