नेपालमा अब वायुसेवा कम्पनी स्थापना गर्न कम्तीमा तीन वटा जहाज वा हेलिकप्टर अनिवार्य हुनैपर्ने भएको छ । वायुसेवा सञ्चालन निर्देशिकालाई संशोधन गर्दै प्राधिकरणले उडानसम्बन्धी नयाँ व्यवस्था गरेको हो ।
वायुसेवा सञ्चालन प्रमाणपत्र निर्देशिका (एओसीआर) संशोधन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अब नेपालमा दर्ता गरी सञ्चालन हुने वायुसेवा हेलिकप्टर वा फिक्स्ड विङ्ग (जहाज) उडाउने कम्पनीले न्यूनतम तीन वटा वायुयान राख्नै पर्ने भएको हो ।
‘अहिलेसम्म एउटा हेलिकप्टर वा जहाजबाट वायुसेवा कम्पनी दर्ता हुने नियम थियो,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘अब नयाँ दर्ता हुँदा तीनवटा हेलिकप्टर वा जहाज हुनैपर्ने छ । नत्र वायुसेवा दर्ता हुने छैन ।’
यस्तै पुराना कम्पनीहरूले आगामी ५ वर्षभित्र जहाज र हेलिकप्टरको संख्या न्यूनतम ५ वटा पुर्याउनुपर्ने भएको छ । एउटै कम्पनीले ५ वटा जहाज पुर्याउन नसके कम्पनी मर्जर गर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ।
‘अहिले दर्ता भइसकेका कम्पनी जति छन्, त्यसैमा सञ्चालन गर्न सक्छन्,’ निरौलाले भने, ‘अबको ५ वर्षमा एउटा कम्पनीले ५ वटा जहाज पुर्याउनु पर्छ ।’
नेपालमा हवाइ दुर्घटना बढ्दै गएसँगै उडानलाई व्यवस्थित गर्न उडान सञ्चालन निर्देशिकामा संशोधन गरिएको जनाएको छ ।
प्राधिकरणले एकरदुई जहाजमात्रै सञ्चालन गर्ने वायुसेवा कम्पनीमा उडान सुरक्षामा लापरबाही हुने, दक्ष जनशक्ति अभाव भइरहने, कमजोर आर्थिक अवस्थाका कारण वायुसेवा कम्पनीले उडान सुरक्षा परिपालना गर्न नसक्ने लगायतका कारणले जहाजको न्यूनतम संख्या तोक्नुपरेको जनाएको छ ।












