इरानले लेबनानमा जारी सैन्य कारबाही रोक्ने ग्यारेन्टी नआएसम्म स्विट्जरल्यान्डमा अमेरिकासँग वार्ता पुनः सुरु नगर्ने स्पष्ट गरेको छ । इरानी सञ्चारमाध्यमहरुले जनाए अनुसार इरानले सम्झौतामा पहिले नै तय भएका प्रावधानअनुसार लेबनानमा युद्ध अन्त्य हुने सुनिश्चितता चाहेको हो । लेबनानमा इजरायली आक्रमण बढेपछि प्रस्तावित अमेरिका–इरान वार्ता अस्थायी रूपमा स्थगित गरिएको छ । वार्ता कहिले सुरु हुन्छ भन्नेबारे भने अझै कुनै स्पष्ट जानकारी आएको छैन ।
यसैबीच फ्रान्सका विदेश मन्त्री जीन नोएल बारोले इजरायलले लेबनानमा जारी सैन्य आक्रमण रोक्नुपर्ने बताएका छन् । उनले अमेरिकाले पनि यस विषयमा इजरायलमाथि दबाब दिनुपर्ने धारणा राखेका छन् । फ्रान्सेली सञ्चारमाध्यमसँग कुरा गर्दै उनले लेबनानको सार्वभौमिकताको सम्मान अनिवार्य रहेको उल्लेख गरेका छन् । साथै लेबनानी सेनालाई अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्ने प्रयास भइरहेको पनि उनले बताएका छन् ।
अर्कोतर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका-इरानबीचको अन्तिम सम्झौतालाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लागेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार उनले दक्षिणपन्थी मिडिया व्यक्तित्व र इजरायल समर्थक अमेरिकी सांसदमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब बनाउने रणनीति लिएका छन् ।
सम्झौता हस्ताक्षरपछि सुरु भएको ६० दिनको वार्ताबीच नेतान्याहुले मार्क लेविनजस्ता टिप्पणीकारको सहयोग लिएको बताइएको छ । लेविनले उक्त सम्झौतालाई गलत भन्दै इरानलाई दिइने पुनर्निर्माण कोषलाई अनियन्त्रित खर्चको संज्ञा दिएका छन् । अमेरिकी सांसद लिन्डसे ग्राहमले भने आफ्नो अघिल्लो कडा अडान परिवर्तन गर्दै इरानसँगको सम्झौता अमेरिकाका लागि लाभदायक हुन सक्ने संकेत दिएका छन् ।
यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ । लेबनानी सरकारी समाचार संस्थाका अनुसार ती आक्रमणमा कम्तीमा अठार जनाको मृत्यु भएको छ । इजरायलका प्रधानमन्त्री नेतान्याहुले भने सेनालाई फिर्ता बोलाउने कुनै योजना नभएको बताएका छन् । उनले हिज्बुल्लाहबाट आउने खतरा पूर्ण रूपमा समाप्त नभएसम्म इजरायली सेना लेबनानमा रहने स्पष्ट पारेका छन् ।













