अमेरिका र इरानबिच भएको शान्ति सम्झौताका सर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् ।
सीएनएनका अनुसार अमेरिका र इरानले इजरायल र हेजबुल्लाहबिच द्वन्द्वका कारण पहिले रोकिएको वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेका छन् । रिपोर्टमा भनिएको छ, ‘हालैको युद्धविरामपछि वातावरण केही शान्त भएकाले वार्ता पुनः सुरु हुन सक्छ । डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि यस प्रक्रियामा संलग्न हुने अपेक्षा गरिएको छ ।’
सम्झौताअनुसार दुवै देशलाई अन्तिम सम्झौतामा पुग्न ६० दिनको समयसीमा दिइएको छ। यसैबिच एक्सियोसको रिपोर्टअनुसार इरानका विदेशमन्त्री अब्बास अराघची पनि आज स्विजरल्यान्ड पुग्न सक्छन्, यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन ।
यसअघि शान्ति सम्झौता लागु गर्ने विषयमा अमेरिका र इरानबिच शुक्रबारै स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता स्थगन गरिएको थियो । लेबनानमा इजरायलले आक्रमण जारी राखेकाले दुई पक्षबिच मतभेद कायमै छ ।
यहीबिच सीएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्पका विशेष दूत स्टिभ विटकफ स्विट्जरल्यान्ड प्रस्थान गरेको जनाएको हो । अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि गत बुधबार राति १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको छ।














