इरानको संयुक्त सैन्य कमाण्डले शनिबारदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण ‘होर्मुज स्ट्रेट’ पुनः बन्द गर्ने घोषणा गरेको छ । लेबनानमा जारी इजरायली आक्रमण र अमेरिकाले युद्ध अन्त्य गर्ने आफ्नो वाचा पूरा नगरी ‘बदनियतपूर्ण’ रूपमा सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै इरानले यस्तो कदम चालेको जनाएको छ । सरकारी टेलिभिजनमार्फत जारी गरिएको सैन्य विज्ञप्तिमा भनिएको छ, ‘यदि आक्रामकता जारी रह्यो भने, हामीले थप कडा कदमहरू चाल्ने योजना बनाएका छौं ।’
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाहेईले अमेरिकाले सम्झौताको पूर्ण पालना नगरेसम्म स्थिति सामान्य नहुने संकेत गरेका छन् । उनले भने, ‘अन्तिम सम्झौताका लागि वार्ता तब मात्र अघि बढ्छ जब लेबनानमा जारी लडाइँ रोक्ने लगायतका मुख्य वाचाहरू पूरा गरिन्छ । यदि यी सम्झौताका कुनै पनि हिस्सा लागु गरिएन भने, पूरा सम्झौता नै संकटमा पर्नेछ ।’
इरानको सो घोषणापछि अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सले सञ्चारमाध्यमहरूलाई जलमार्गमा जहाजहरूको आवतजावत निरन्तर जारी रहेको बताएका छन् । उनले अमेरिकी सेनाले परिस्थितिको निगरानी गरिरहेको भन्दै इरानले स्ट्रेट अफ होर्मुज नियन्त्रण नगर्ने बताए ।
बीबीसीले आफूले गरेको भेरिफाइले शनिबार कम्तीमा पाँचवटा तेल ट्यांकर जलडमरूमध्य पार गरेको र केही जहाजले बीचमै मार्ग परिवर्तन गरेको जनाएको छ ।
यसअघि यसै हप्ताको सुरुमा अमेरिका र इरानबीच एक अन्तरिम सम्झौता भएपछि होर्मुज स्ट्रेटबाट जहाजहरूको आवागमन सुचारु गरिएको थियो । तर, पछिल्लो घटनाक्रमले उक्त सम्झौतालाई जोखिममा पारेको छ ।
युद्धविरामको चर्चा चलिरहेकै बेला शनिबार दक्षिणी लेबनानमा इजरायलले भीषण हवाई आक्रमण गरेको छ । यी आक्रमणमा दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । लगातारको सैन्य कारबाहीले गर्दा मध्यपूर्वमा युद्ध रोक्न भइरहेका कूटनीतिक प्रयासहरूमा धक्का लागेको छ ।















