मनसुन सक्रिय बन्दै, तराईमा तातो लहरको जोखिम अझै कायम

Image

नेपालमा मनसुन प्रवेश भइसके पनि तराईका केही क्षेत्रमा तातो लहर (हिटवेभ) को जोखिम अझै कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक-दुई स्थानमा तातो लहरको प्रभाव जारी रहनेछ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा समेत तातो लहर चल्न सक्ने सम्भावना औँल्याइएको छ।

मौसम पूर्वानुमानअनुसार आज धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्न सक्ने सम्भावना रहेको छ। धनगढीमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस तथा नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।यस्तै, वीरेन्द्रनगर, घोराही र भैरहवालगायतका तराई क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहने जनाइएको छ। अर्कोतर्फ पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायत क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा वर्षाको सम्भावना ४० प्रतिशतसम्म रहेको छ। काठमाडौं उपत्यकामा आज दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको छ भने राति हल्का वर्षाको सम्भावना ३० प्रतिशत रहेको छ। उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उनले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको बताए।

प्रादेशिक मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षाको गतिविधि सक्रिय रहने अनुमान गरिएको छ।मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने वर्षासँगै तातो दिनको अवस्था रहने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।विभागले मेघगर्जन, चट्याङ तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, अत्यधिक गर्मी हुने क्षेत्रमा पर्याप्त पानी पिउन, अनावश्यक रूपमा घाममा ननिस्कन र मौसमसम्बन्धी सूचनाको नियमित जानकारी लिन अनुरोध गरेको छ।