‘ब्ल्याक सी’मा दुई दिनमा तीन जहाजमाथि ड्रोन आक्रमण

Image

 ‘ब्ल्याक सी’ (काला सागर)मा ड्रोन आक्रमणमा परी डुबेको मालवाहक जहाजका बेपत्ता १० जना चालक दलका सदस्यको खोजी बुल्गेरियाले स्थगित गरेको छ । लामो समयसम्म उनीहरूको कुनै पत्तो नलागेपछि खोजी औपचारिक रूपमा बन्द गरिएको हो ।

बुल्गेरियाको समुद्री प्रशासनका उद्धार प्रमुख रुमेन निकोलोभले स्थानीय समयअनुसार मंगलबार अपराह्न ५ बजे खोजी सकिएको र अब पुनः सुरु नगरिने बताएका छन् ।

८३ मिटर लामो ‘अल्फा वतन’बाट तीन लाइफ राफ्ट र एउटा पल्टिएको लाइफबोट भेटिए पनि चालक दलका कुनै सदस्य फेला नपरेको हो । उनीहरूको अवशेष वा अन्य संकेत भेटिने सम्भावना नरहेको निकोलोभले बताएका छन् ।

सोही आक्रमणमा परेको दोस्रो जहाज ‘एबल’ पनि डुब्ने जोखिममा रहेको उनले बताएका छन् । समुद्री ड्रोनको प्रहारपछि इन्जिन रुममा पानी पसेको थियो । जहाजको पछिल्लो भाग भासिएको र मंगलबार बिहानसम्म आगो लागिरहेको जनाइएको छ ।

घटनापछि बुल्गेरियाकी कार्यवाहक राष्ट्रपति इलियाना जोटोभाले समुद्री सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।

‘एबल’ मा सवार ११ टर्की र सात भारतीय गरी १८ जनालाई बुल्गेरियाली फेरी ‘डिओस्कुरिया’ ले उद्धार गरी वार्ना पुर्‍याएको छ । उद्धार गरिएकामध्ये दुई जना घाइते छन् । एक जनाको शरीर जलेको र अर्काको टाउकोमा चोट लागेको छ ।

मंगलबार बिहान करिब ३ बजे बुल्गेरियाको विशेष आर्थिक क्षेत्रअन्तर्गत ब्याला सहरबाट करिब ७० समुद्री माइल पूर्वमा समुद्री तथा हवाई ड्रोनले दुवै जहाजमा आक्रमण गरेका थिए ।

‘डिओस्कुरिया’का चालक दलले विस्फोटपछि घटनास्थल पुग्दा पल्टिएको लाइफबोट र लाइफ ज्याकेट मात्र फेला पारेका थिए । रादेवका अनुसार, उद्धार टोलीलाई वार्ना लैजान दुई हेलिकप्टर र हवाई निरीक्षणका लागि एउटा एसयू–२५ विमान परिचालन गरिएको थियो ।

दुवै जहाजले राति संकेटकालीन संकेत पठाएका थिए । तीमध्ये एउटा मंगलबार बिहान करिब ९ बजे बोर्डर प्रहरीको राडारबाट सम्पर्कविहीन भएको थियो ।

व्यावसायिक जहाजको तथ्यांक राख्ने ‘इक्वासिस’का अनुसार, दुवै जहाज टर्कीका नागरिकको स्वामित्वमा छन् । बुल्गेरियाको विशेष आर्थिक क्षेत्रमा जलयानमाथि भएको यो पहिलो आक्रमण भएको बताइएको छ ।

टोगोको झण्डामुनि यात्रा गरिरहेको ‘अल्फा वतन’ रोमानियाको सुलिना बन्दरगाहतर्फ गइरहेको थियो । दोस्रो जहाज गहुँ बोकेर दक्षिणतर्फ गइरहेको रादेवले बताएका छन् । ‘अल्फा वतन’मा के सामान लोड गरिएको थियो भन्ने खुलेको छैन ।

यो घटना युक्रेनबाट इटालीतर्फ खाद्यान्न बोकेर गइरहेको टर्कीको स्वामित्वको अर्को मालवाहक जहाजमाथि रोमानियाली तट नजिकै ड्रोन आक्रमण भएको भोलिपल्ट भएको हो । आक्रमणपछि जहाजमा आगो लागेर डुब्दा दुई चालक दलका सदस्यको मृत्यु भएको थियो ।

अजरबैजानको परराष्ट्र मन्त्रालयका अनुसार, मृतक क्याप्टेन तथा अजरबैजानी नागरिक रुस्तम इस्मायिल ओग्लु हसनोभको शव स्वदेश फर्काउने प्रक्रिया भइरहेको छ । अर्का अजरबैजानी नागरिक महम्मद हम्जा ओग्लु सुलेमानजादे अझै बेपत्ता छन् । रोमानियाली अधिकारीहरूले बाँकी ११ चालक दलका सदस्यको उद्धार गरेका थिए । उनीहरूमध्ये तीन अजरबैजानी र एक भारतीय नाविकको रोमानियामा आकस्मिक उपचार भइरहेको छ ।