दोलखाको भीमेश्वर नगरपालिका–६, भुतपोखरीस्थित चरिकोट–कालिञ्चोक सडकखण्डमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
कालिञ्चोक मन्दिरको दर्शन गरी चरिकोटतर्फ आउँदै गरेको बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । कार अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काठमाडौंको शंकरापुर नगरपालिका–२ बस्ने ६५ वर्षीय सन्त नासुर, सोही ठाउँका ५५ वर्षीया राम्री नासुर, २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, आठ वर्षीय सुजित नासुर तथा २२ वर्षीया सुनिता तामाङ घाइते छन् ।
घाइतेहरूको च्छोरोल्पा अस्पताल, चरिकोटमा उपचार भइरहेको छ । कार चालक शंकरापुर नगरपालिका–३ बस्ने २१ वर्षीय निरज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















