नेपाली सेयर बजार लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.५० अंकले घटेर २ हजार ६५१.०६ विन्दुमा कायम भएको छ। यो स्तर फागुन १३ यताकै न्यून रहेको छ।
पछिल्लो एक महिनाको अवधिमा नेप्से १३५ अंकले घटेको छ। जेठ ११ गते २ हजार ७८६ अंकमा रहेको नेप्से लगातारको गिरावटपछि उल्लेख्य रूपमा तल झरेको हो। कारोबार अवधिमा साढे १२ बजेपछि बजारमा केही सुधारको संकेत देखिए पनि पौने २ बजेपछि पुनः बिक्री दबाब बढ्दा बजार ओरालो लागेको थियो।कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार २ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। यो कारोबार रकम जेठ ४ यताकै न्यून हो।
आज ८३ कम्पनीको शेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसमूहका सूचकहरू घटेका छन्। उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ।त्यसैगरी बैंकिङ ०.१९ प्रतिशत, विकास बैंक ०.१५ प्रतिशत, फाइनान्स ०.३६ प्रतिशत, होटल तथा पर्यटन ०.५३ प्रतिशत, जलविद्युत् ०.४१ प्रतिशत, लगानी ०.१६ प्रतिशत, जीवन बीमा ०.२२ प्रतिशत, माइक्रोफाइनान्स ०.१५ प्रतिशत, निर्जीवन बीमा ०.४० प्रतिशत तथा अन्य समूह ०.४७ प्रतिशतले घटेका छन्।
हालै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ५२४ रुपैयाँ ६० पैसामा पुगेको छ।त्यस्तै कालिका लघुवित्तको शेयर मूल्य १२.८४ प्रतिशत, सप्तकोशी विकास बैंकको ८.२० प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्सको ३.२३ प्रतिशतले बढेको छ। विपरीत, भुजुङ हाइड्रोपावर ११.०३ प्रतिशत, सीवाईसी लघुवित्त ८.९७ प्रतिशत, भगवती हाइड्रोपावर ५.८४ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावर ५.५७ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक अग्रस्थानमा रहेका छन्।















